२०८१ आश्विन २३
Dinanka News header advertisement

कोरोनाको आशंका गरिएका झापाका विरामीमा फ्लू र निमोनिया : डा. पाण्डे

काठमाडौं । झापाबाट कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं ल्याइएका विरामीमा फ्लू देखिएको ग्राण्डी अस्पतालले जनाएको छ ।

विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा रिफर गरि काठमाडौं पठाइएको थियो। कोरोनाको आशंकामा उनको थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

फ्लूका कारण निमोनिया समेत भएका ती विरामीको आइसीयूमा राखेर उपचार भइरहेको ग्राण्डीका बरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डेले जानकारी दिए । उक्त विरामीको फ्लू लगायत अन्य संक्रमणको सम्पूर्ण जाँच गराइएको छ भने सोमबारसम्ममा  रिपोर्ट आइसक्ने उनले बताए। 

कोरोनाको परिक्षणका लागि विरामीको स्याम्पलहरु टेकुस्थित प्रयोगशालामा पनि पठाइएको डा पाण्डेले जानकारी दिए।

ग्राण्डी अस्पतालमा कोरोनासँग जुध्न विभिन्न सुरक्षा सर्तकता अपनाइएको उनले बताए । प्रत्येक विरामीको ज्वरो नाप्ने लगायतको प्रक्रिया पुरा गरिएको र शंका लागेका विरामीलाई बाहिरै आइसोलेशनमा राख्ने लगायतका विधि अपनाइएको उनले बताए ।

झापाबाट ल्याइएको विरामीमा मौसमी फ्लू भएर उनलाई निमोनिया भएकाले आइसियूमा राखिएको उनले सुनाए ।यद्यपी कोरोनाको परिक्षण गर्न विशेषज्ञ डाक्टरको टोली खटाई परिक्षणका लागि टेकु पठाइएको अस्पताल प्रसासनले जनाएको छ।

ज्वरो आउने र रुघाखोकी लाग्ने बित्तिकै कोरना भाइरसको सङ्क्रमण भन्दै आत्तिन नहुने डा पाण्डेको सुझाव छ ।

सन् २०१९ डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोनाका कारण ४६ देशका नागरिकको मृत्यु भएको छ । यसबाट विश्वका १५२ देशका कूल एक लाख ५६ हजार व्यक्ति प्रभावित भएका छन् । हालसम्म पाँच हजार ८३९ जनाको निधन भएको छ । सङ्क्रमितमध्ये ७५ हजार ९३७ उपचारपछि घर फिर्ता भएका छन् । विश्वका ७४ हजार ९९० जना कोरोनाको सङ्क्रमणमा छन् ।

बिरामीमध्ये ९२ प्रतिशत सामान्य रहे पनि आठ प्रतिशत जोखिममा छन् । मृत्युको हिसाबले ८० वर्षभन्दा माथिका व्यक्तिमध्ये १४.८ प्रतिशत छ।

अन्तरराष्ट्रियस्तरमा क्यानडाली प्रधानमन्त्रीकी श्रीमती, अष्ट्रेलियाली  गृहमन्त्री, बेलायती स्वास्थ्यमन्त्री तथा इरानी उपराष्ट्रपति र स्वास्थ्य राज्यमन्त्री सङ्क्रमित भएका छन् । यस्तै इरानका एक ५५ वर्षीय सांसदको निधन भएको छ । यसैगरी चीन भ्रमणपछि मङ्गोलियाका राष्ट्रपति १४ दिने क्वारेन्टाइनमा रहेका छन् ।

TOP