कोरोना भाइसर जाजरकोट जिल्लामा २०७२ साल बैसाखमा फैलिएको झाडापखाला जस्तो महामारी होइन । तराईमा देखिने कालाज्वर र डेंगु जस्तो पनि होइन । न त यो स्वाइन फ्लू र कुनै मौषमी फ्लू जस्तो नै हो। जसलाई राज्यका संयन्त्रहरुले सजिलै नियन्त्रण गर्न सक्छ ।
यो एक विश्वब्यापी महामारी हो । यो महामारीसंग लडन राज्य एक्लैले सक्दैन । अहिले युरोप र अमेरिकाको हालत के छ । ती देशहरुमा फैलिएको कोरोनाको कहरबाट हामी अनभिज्ञ छैनौ । त्यसकारण यसलाई कसैले ख्यालठट्टामा लिनु हुँदैन । तर, सुदूरपश्चिमको पछिल्लो अवस्था हेर्दा त्यहाँको सरकार र स्वयं जनताले पनि प्रशस्त लापरवाही गरेको देखिएको छ । त्यही लापरवाहीले गर्दा सुदूरपश्चिम अहिले डेन्जर जोनमा परेकाे छ ।
यस्ता महामारीका बेला सामाजिक अन्धविश्वासले ठूलो नोक्सान पुर्याउछ । यतिबेला सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरुमा कोरोना भाइरसको संक्रमणबाट बच्न अनेकौ रुढिवादी चलनहरु व्युँत्याएको भन्ने खबरहरु पनि आइरहेका छन ।
घरको मूल ढोका अगाडि आँगनमा खाल्टो खनेर निकालेको कोइला निधारमा दलेमा कोरोना लाग्दैन भन्ने प्रचार गरिएको छ । हजारौ जनता यस्तो गलत प्रचारमा लागेको खबर छ । विरामी हुँदा अस्पताल नगई देवी- देउता पुज्ने, बली दिने धामी झाँक्री र गुरुवा गर्ने जस्ता अन्ध विश्वासले ठूलो क्षति हुनसक्ने कुरालाई बल पुर्याउछ । समाजमा अन्ध विश्वास फैलाउने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउनु पर्छ ।
यस्ता कुप्रचार रोक्न स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता -कार्यकर्ता र सामाजिक अभियन्ताहरु सहीत सर्वपक्षीय समन्वयात्मक टिम निर्माण गर्नु आवश्यक छ । लकडाउन अघि र पछि विदेशबाट नेपाल फर्केका मानिसहरुको पहिचान गरेर तिनीहरुको स्वास्थ्य परिक्षण गर्नु सरकारका लागि ठूलो चुनौती बनेको छ । सुदूरपश्चिममा मात्र खुला सिमानाका कारण भारतबाट प्रवेश गर्नेको संख्या लाख को हाराहारीमा रहेको अनुमान गरिएको छ । ती मानिसहरुलाई सरकारले सम्पर्कमा ल्याउन सकिरहेके छैन ।
सरकार एक्लैले ती मानिसहरुको खोजी गरेर जाँचको दायरामा ल्याउन सक्ने अवस्था छैन । यस काममा पूरा जनसमुदाय लाग्न आवश्यक हुन्छ । राष्ट्रिय रुपमा आपत विपत् परेका बेला सरकारी संयन्त्रहरुको मात्र भर नपर्ने हाम्रो समाजको परम्परा छ । तसर्थ यतिबेला नागरिकस्तरका सबै संघ- संस्था र समाजका अगुवा व्यक्तिहरुले आफू सुरक्षित हुँदै कोरोना विरुद्दको अभियानमा स्वतस्फूर्तरुपमा सहभागी हुन आवश्यक भैसककेको छ ।
लकडाउनको यो बेला हाम्रा ध्यान विश्व घटनामा केन्द्रित छन । हाम्रा आँखा टेलिभिजनका पर्दा र सोशल मिडियाका भित्ताहरुमा अडेका छन । तर पनि हामी बुझ पचाएको जस्तो नाटक गरेर आफ्ना धारणा सार्वजनिक गरिरहेका छौ । कोरोनासंग जोडिएका सबै कुराको ठेक्का राज्यले लिनु पर्छ भनेर कुर्लिरहेका छौं ।
उच्चतम प्रविधिको विकास, स्तरीय स्वास्थ्य सेवा र मनग्य साधन श्रोत भएको दम्मका कारण युरोप र अमेरिकामा कोरोनाले बढी क्षति पुर्याएको छ । कोरोनासंग सजिलै निपटन सकिन्छ । यो खासमा केही पनि होइन भन्ने हाई कन्फिडेन्सका कारण त्यहाँका जनताको लापरवाहीपूर्ण दैनिकीले गर्दा यो महामारी नियन्त्रण बाहिर रहेको देखिन्छ ।
जतिबेला चीनको वुहान सहरमा कोरोनाले महामारीको रुप लिदै थियो त्यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनप्रति व्यङ्ग गर्दै थिए । कोरोनाले अमेरिकालाई छुन नसक्ने प्रतिक्रिया दिंदै थिए । चीनलाई होच्याउन उनले कोरोनालाई “चिनिया भाइरस” सम्म भने । कोरोना नियन्त्रणमा अमेरिकालाई कसैको सहयोग आवश्यक नरहेको अभिव्यक्ति पनि ट्रम्पले दिए । जब कोरोना भाइरस अमेरिकी जनताको घर आगनमा पुग्यो र यसले महामारीको रुप धारण गर्न थाल्यो अनि ट्रम्पले चीनको सहायता लिनु परिरहेको छ ।
चिनियाँ विमानस्थलबाट फ्रान्स लैजान थालिएको मास्क लगायतका स्वास्थ्य सामाग्री अमेरिकाले खोसिदिएको गुनासो फ्रान्सेली अधिकारीहरुले गरेका छन् । जर्मनीको बर्लिन प्रहरीले पैसा तिरेर बैंककबाट लैजान तयार गरेको २ लाख मास्क अमेरिकाले एरपोर्टमै जवरजस्ती कब्जामा लिएको घटनालाई बर्लिनका आन्तरिक मामिला मन्त्री आन्द्रियास गाइजेले ‘डकैती’ भनेका छन । विश्वको महाशक्ति अमेरिका मास्क, भेन्टिलेटर, स्वास्थ्यकर्मीले लगाउने गाउन नपाएर हैरान छ ।
कोरोना महामारी के हो र यसले कतिसमम्म नोक्सान पुर्याउन सक्छ भन्ने कुरा अमेरिका बल्ल बुझ्न थालेको छ । मानवीय क्षतिको इन्डिकेटरमा युरोपियन मुलुकहरु इटाली र स्पेन पछि अमेरिका रहेको छ भने सक्रमित संख्याको सूचीमा अमेरिका पहिलो नम्बर छ ।
महासंकटका बेला पुरा देश एक ढिक्का भएर उभिनु पर्छ । सरकारले पनि यसका लागि इमान्दारितापूर्वक पहल गर्नुपर्छ । यतिबेला सम्पूर्ण राजनीतिक दलहरुलाई सरकारले नजिक राख्नुपर्छ । नियमित छलफल र सरसल्लाह गर्नुपर्छ । दलहरु पनि स्वतस्फुर्तरुपमा सत्ताधारी दल र सरकारको निकट रहनुपर्छ । तर यी कार्यहरु भएका देखिदैनन । सत्ताधारी पार्टी भित्रैबाट पनि सरकारलाई असहयोग भइरहेको देखिन्छ । प्रधानमन्त्रीको कुर्सी ताकेर बसेका नेकपाका नेताहरु यो महासंकटमा अप्ठ्यारा चरित्र देखाइरहेका छन ।
महासंकटका बेला नेताहरुमा सत्ता मोह मात्र जाग्नु दुर्भाय हो । कसैलाई यही बेला प्रधानमन्त्री बन्ने सपना पर्न थालेको छ त कसैलाई राष्ट्रपति । मुलुकका सामु आइलागेको यो महासंकटलाई सत्ताधारी पार्टी भित्रका गुटका नेताहरु र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले “तावा गरम है रोटी सेक लो” भन्ने हिन्दी उखानकै अवस्थामा बुझ्नु बेइमानी हो ।
नेपाली कांग्रेस जस्तो एतिहासिक पार्टीले यो महासंकटका बेला हातमा हात मिलाएर सरकारलाई मद्दत गर्नु पर्नेमा उल्टो कांग्रेसका केही जिम्मेवार नेताहरु मध्यावधी चुनावको माग गरिरहेका छन । सरकारको आलोचना गरिरहेका छन ।
महामारीका बेला सरकारले खरिद गर्ने औषधीमूलोमा केही अनियमिततता भएका आशंकाहरु प्रकाशमा आएका छन । यदी त्यसो भएकै हो भने पनि यसको छानविन गरेर सत्यतथ्य कुरा बाहिर ल्याउने निकायहरु पनि छन । यी कुनै नौला निकाय होइनन ।
२०४६ साल यता करिब दुई दशक नेपाली कांग्रेसले यो देशको बागडोर सम्हालेकै हो । अनियमितता र भ्रष्टाचार छानविन गर्ने यी निकाय कांग्रेसकै पाला देखिका हुन । तसर्थ यी निकायप्रति विश्वास गर्नै पर्छ । कांग्रेस नेताहरुले उपरोक्त कुराहरु विर्सेर मौका परस्त व्यवहार देखाउनु राजनीतिमा इमान्दारिता गरेको ठहरिदैन । दुईतिहाईको सरकारले आधाआधी कार्यकाल पुरा गर्दैछ । अबका बाँकी दुई पर्छ पछाडी आम निर्वाचन हुने नै हो । सत्ताका अभिष्टहरु निर्वाचनले पुरा गर्ने हो । त्यतीसम्म त सबैले धैर्यता गर्नै पर्छ ।
आम निर्वाचनसम्म धैर्यता राख्न नसकेर षडयन्त्रका तानाबाना बुन्दै देशमा आइलागेको विपत्तिलाई सत्तामा पुग्ने भर्याङ बनाउने सोच राख्नु गलत हुनेछ । एउटा जिम्मेवार राजनीतिक पार्टीका यस्ता सोच र व्यवहारले इतिहासका भयंकर दुर्घटनाहरुलाई स्मंरण गराउदछ । यहाँनेर म युरोप सखाप पारेको ब्ल्याक डेथको प्रसंग उल्लेख गर्न चाहान्छु ।
सन १३४७ देखि १३५३ सम्म फैलिएको ब्ल्याक डेथले युरोपको आधा जनसंख्या सकियो । केही प्लेगले मरे । केही खान नपाएर मरे । रोगले राजनीतिक संकट निम्त्यायो । सरकारहरुका विरुद्द विद्रोहहरु भए । बिद्रोह हिसांत्मक बन्दा रोग बाट मर्ने संख्याकै बराबरीमा लडेर मरे ।
त्यो बेला सरकार भन्दा माथि चर्चहरु हुन्थे । पादरीहरु समाजका मुखिया मानिन्थे । सत्ता सञ्चालकहरुसंग परमेश्वर रिसाएकाले मानव जातिको अन्त्य हुनथाल्यो भन्ने जस्ता अफवाहहरु धर्मगुरुहरुले समाजमा फैलाए । त्यस्ता अफवाहलाई विपक्षी राजनीतिक शक्तिहरुले मलजल गर्ने काम गर्दा सरकार विरुद्द भएका हिंसात्मक घटनामा जनसंख्याको एक चौथाई मानिसहरुको ज्यान गयो ।
यस्तो महामारीका सबै पक्ष मिलेर राज्यलाई मद्दत गर्नुपर्थ्यो तर त्यसो भएन । महामारीलाई सत्ता हत्याउने माध्यम बनाउन थालियो । सन १३१५ देखि १३२० सम्म मौषममा आएको परिवर्तनले पुरा युरोपले खाद्यान्नको संकट बेहोर्नु पर्यो । जनता भोकमरीको शिकार भए । मौषम सुध्रिएसंगै विस्तारै खेतीपातिको अवस्था सुध्रिन थालेको थियो ।
प्लेग जस्तो भयानक महामारीले यूरोपलाई मसानघाट बनायो । कृषी उत्पादनमा आएको संकटले कुपोषण हुदा मानिसहरुमा प्रतिरोधात्मक क्षमतामा ह्रास आयो । प्लेगको महामारीले धमाधम मानिसहरुको मृत्यु भयो । त्यो बेला युरोपमा २० करोड मानिसहरुको मृत्यु भएको अनुमान गरिन्छ ।
अफ्रिका र एशियामा करिब २५ देखि ३० लाख मानिस मरेको विभिन्न पुस्तकहरुमा उल्लेख छ । ब्ल्याक डेथका नाम दिइएको उक्त महामारी ब्यापारिक पानीजहाजहरुमा समुद्रको बाटोहुदै आएका कालो रंगका मुसाबाट फैलिएको प्लेगका जिवाणु भएको ढिलो गरी पत्ता लागेको थियो ।
छिमेकी मुलुक भारत पूरै एकजुट भएर कोरोना महामारीको नियन्त्रणमा लागेको छ । प्रधानमन्त्री स्वयं दैनिकरुपमा विभिन्न सञ्चार माध्यमहरु मार्फत देशवासीलाई महामारी नियन्त्रणमा सहभागिहुन जनतालाई आव्हान गरिरहेका छन । राज्यका मुख्यमन्त्री देखि लिएर उच्चपदस्थ नेता कर्मचारीहरु छिनछिनमा सन्देश जारी गरिरहेका छन ।
सिने कलाकार, साहित्यकार, क्रिकेटरहरु पनि सञ्चारका सबै माध्यमहरुमा देशवासीलाई कोरोना महामारीबाट बच्न र बचाउन सन्देश जारी गरिरहेका छन । यस्तो महासंकटका बेला सिनेमा कलाकार कवि लेखक खेलाडी र सामाजिक अभियन्ताहरुको भूमिका बढी प्रभावकारी सावित हुन्छ ।
उनीहरुको कुरा जनमानसले सजिलै ग्रहण गर्छन । तसर्थ हाम्रा सिने कलाकार खेलाडी कवि लेखकहरुले पनि यो घडीमा देशवासीलाई हरेक दिन सम्बोधन गर्नु पर्छ । यतिबेला नेपाली सञ्चार माध्यमहरुको भूमिका एकदमै प्रभावकारी देखिएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले पनि दैनिकजसो महामारी नियन्त्रण गर्न मद्दत पुग्ने खालका प्रचार समाग्री आ आफ्ना वाल माफर्त प्रस्तुत गर्न सक्छन । कोरोना विरुद्दको लडाईमा यो झन प्रभावकारी सावित हुनसक्छ ।