२०८१ आश्विन २३
Dinanka News header advertisement

कोरोना संक्रमित बारे सरकार झुठ बोल्दै छ: डा. दिक्षित

काठमाडौं, ६ चैत्र । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेपनि चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारको दाबीमा सत्यता नरहेको दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै डा. झाले आशंकित विरामी सबैको परीक्षण भइसक्दा पनि देशमा कोरोना भाइरसको संक्रमित नभएको बताइन् । तर, डा. दिक्षितले झाको दाबीको प्रत्युत्तरमा ल्याबको क्षमतामाथि नै प्रश्न गरे ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले देशभर कोही पनि कोरोना भाइरसको संक्रमित नरहेको बताइन् । रोगको सम्भावित लक्षण देखिएका विरामीहरुमध्येबाट दैनिकजसो परीक्षण भइरहेको भन्दै तथ्यांकगत आधारमा हाल देशमा कोही पनि कोरोना भाइरस संक्रमित नभएको स्पष्ट पारेकी छिन् ।

‘हाल देशमा कसैलाई पनि कोभिड–१९ को संक्रमण छैन’– डा. झाले भनिन्,‘आजसम्म आशंकित ५२१ जनाको परीक्षण भइसकेको छ ।’

कार्यक्रममा वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले कारोना संक्रमित देशभित्र भएको दाबी गरे । आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय विरामीलाई परीक्षण नै नगरी फर्काइएको उनको दाबी छ ।

उनले भने,‘कोरोना भाइरसको संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ । डाक्टरको सिफारिस बिना आफुलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु ।’

सरकारले आवश्यकतानुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाउदै  डा. दिक्षितले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेशीन (परिक्षण किट) ल्याउन आग्रह गरेका छन् । उनले भने,‘परीक्षण किट तत्काल ल्याउनुपर्छ, ढिलाई गर्ने होइन ।’

उनले आवश्यक मेशीन फास्ट ट्रयाकबाट ल्याउनपनि सरकारलाई सल्लाह दिए । दिक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकोले रोग जाँच्न नपाएमा संविधानविपरित हुने भन्दै यस्तो आपतमा मेशीन नल्याउँदा जनता आक्रोसित भई सडकमा आउन बाध्य हुनेतर्फ पनि सचेत गराए। उनले भने,‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन, तत्काल आवश्यक उपकरण ल्याउनुपर्छ ।’

TOP